मधेश प्रदेश , बारा , जिल्ला , जितपुरसिमरा उ.म.न.१५

Wednesday, August 5, 2020

तरकारी खेती कहाँ कसरी गर्ने ?

तरकारी खेती कहाँ कसरी गर्ने ?


तरकारी खेति सम्बन्धी हाते पुस्तिका 

खेतीमा सबैभन्दा कम लगानीमा धेरै प्रतिफल दिनेमा तरकारी खेती पनि एक हो। स्वराजगारके सबैभन्दा उत्तम विकल्प तरकारी खेती हो। थेरै पुँजीमा पनि धेरै प्रतिफल लिन तरकारी खेती एकदमै उत्तम मानिन्छ।कुन भूगोलमा र हावापानीमा कस्तो खालको तरकारी खेती गरिन्छ त्यो जानकारी किसानले सबैभन्दा पहाला थाहा पाउनुपर्छ।

नेपालमा तरकारी खेती कसरी र कुन किसिमले गर्ने भन्नेबारे हामी तपाईहरुलाई केही टिप्स दिँदैछौं।

करेसाबारी खेती

विशेष गरी करेसाबारीमा गरिने खेती अर्थेपार्जनभन्दा भन्दा पनि ‍घरपरिवारलाई आपूर्ति गर्न गरिन्छ। तर पनि करेसाबारीमा गरिने तरकारी खेतीबाट पनि मनग्य आम्दानी गर्न सकिन्छ। 

आफ्नो घर वरिपरि रहेको थोरै जमिनलाई करेसाबारी भनिन्छ। करेसाबारी तरकारी खेतीमा परिवारका सबै व्यक्तिहरु लागेका हुन्छन्। थोरै ठाउँमा थोरै मात्रामा गरिने तरकारी खेती हो। यसको उत्पादन घरमै खपत गरिन्छ। लगानी पनि त्यति धेरै लाग्दैन।

यो प्रविधि ग्रामीण तथा सहरी क्षेत्र दुवैमा गरिन्छ। फुर्सदको समय यसमा लगाइन्छ। सहरी क्षेत्रमा बस्ने मानिसका लागि करेसाबारीमा काम गर्नु भनेको हरियाली बढाउनु र स्वच्छ हावामा शारीरिक व्यायाम गर्नु पनि हो।

करेसाबारीमा उत्पादन भएको ताजा तरकारी सेवनले स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ। बजारबाट किनेको तरकारीभन्दा करेसाबारीमा उत्पादन गरेको तरकारी सस्तो हुन्छ।

जुन बेला तरकारीको आवश्यकता पर्छ सोही समयमा करेसाबारीबाट तरकारी टिप्न सकिन्छ। यसबाट समयको बचत पनि हुन्छ। केही किसानहरुले विषादीको प्रयोग गरी समय नपुग्दै बजारमा तरकारी लैजाने गर्छन्। करेसाबारीमा तरकारी उत्पादन गर्नेहरु यस प्रकारको विष सेवनबाट बच्न सक्छन्। 

व्यावसायिक तरकारी खेती  

आयआर्जनका लागि ठूलो लगानी लगाएर ठूलै क्षेत्रफलमा गरिने खेती व्यवसायिक तरकारी खेती हो। यसमा आफ्नो ज्ञान, सीप, अनुभव र क्षमता प्रयोग गरिन्छ नै, उत्पादन लागत कम पर्ने गरी गरी धेरै उत्पादन गर्ने कोसिस गरिन्छ।

व्यावसायिक ढंगले तरकारी खेती गर्दा उपलब्ध आफ्नो जमीन अथवा भाडामा लिएको जमीन, त्यहाँको हावापानी, सिँचाइ सुविधा, क्षेत्रफल, बजार तथा यातायात सुविधा आदि कुराहरुलाई विचार गरेर कुन बाली कुन समयमा कति मात्रामा उत्पादन गर्ने भन्ने योजना बनाउनु पर्छ। यसमा लगानी प्रशस्त लाग्दछ र समयमा विचार पुर्याउन भने ठूलो नोक्सान पनि हुन सक्दछ।

यो पुस्तकमा करेसाबारी तरकारी खेतीभन्दा व्यावसायिक तरकारी खेतीतर्फ विशेष ध्यान दिने गरी व्याख्या गरिएको छ। आजको जमाना व्यवसायिक तरकारी खेतीको हो। यसमा निर्धक्क लगानी गर्नु पर्छ। उन्नत प्रविधिको प्रयोग गर्नु पर्दछ। उन्नत जातको बीउ प्रयोग गर्नुपर्छ। २ देखि ४ जना मानिसहरुलाई काम दिन सकिन्छ र राम्रो आम्दानी गर्न सकिन्छ।

ठाउँठाउँमा नयाँ बाटाघाटाहरु खुलेका छन्। गाउँबस्तीहरुमा समेत यातायातको ढुवानी पहुँच पुगेको छ। नयाँनयाँ हाट बजारहरु स्थापना भएका छन्। तरकारी संकलन केन्द्रहरु बनेका छन्।

तरकारी खेती र यसको व्यापारको ठूलो सम्भावना छ। त्यसैले अब धेरैभन्दा धेरै किसानहरु व्यवसायिक तरकारी खेतीतर्फ लाग्नुपर्छ। विदेशमा हण्डर खाएर फर्केका जाँगरिला केही युवा व्यावसायिक तरकारी खेतीतर्फ लागेका छन्। नेपालको कृषि क्षेत्रको उन्नतिका लागि यो सकारात्मक सन्देश हो ।

तरकारी खेती कहाँ कस्तो हुन्छ ?

हिमाली क्षेत्र 

तीन हजार मिटरभन्दा माथिको क्षेत्र हिमाली क्षेत्रमा पर्दछ। यस क्षेत्रको औसत तापक्रम गर्मीमा १० डिसे र जाडोमा एकदेखि पाँच डिग्री सेल्सियसको बीच रहन्छ। जाडोको चार–पाँच महिना प्रायः हिउँले ढाकिने भएकोले प्रायः खेती हुँदैन। यद्यपि बर्खे याममा बन्दा, काउली, मूला र गाँजरजस्ता तरकारीहरुको खेती गर्न सकिन्छ।

बन्दाको बीउ तयार गर्न यस्तो क्षेत्रको आवश्यकता पर्दछ। हिमाली क्षेत्रमा व्यावसायिक रुपमा तरकारीको खेती गर्न चाहने किसानले ताजा तरकारी उत्पादन तर्फभन्दा बीउ उत्पादनतर्फ जोड दिनु राम्रो हुन्छ। 

उच्च पहाड 

समुद्र सतहबाट १५०० मिटरदेखि ३००० मिटरसम्मको उचाइमा यो भाग पर्दछ। यस क्षेत्रको तापक्रम १० डिग्री सेल्सियसदेखि २५ डिग्री से।सम्म रहन्छ। श्रावणदेखि कात्तिकसम्म र फागुनदेखि बैशाखसम्म शितोष्ण अवस्था रहन्छ। त्यसैले यस क्षेत्रमा यो मौसममा रायो, मूला, काउली, बन्दा, गाजर, सिमी, केराउ, स्कुस आदिको खेती राम्रो हुन्छ ।

यो क्षेत्रमा यी बालीहरु वसन्त र शरद दुवै मौसममा लिन सकिन्छ। यो क्षेत्र गर्मीमा बेमौसमको तरकारी उत्पादनका लागि अति नै उपयोगी छ। त्यसैले व्यावसायिक तरकारी खेती गर्ने किसानले यसबाट राम्रो फाइदा लिन सक्दछन्।

मध्यपहाडी 

समुद्र सतहबाट ६०० मिटरदेखी १५०० मीटरसम्मको उचाइमा फैलिएको क्षेत्र जहाँ गर्मीको तापक्रम २० डिग्री से।देखि ३० डिग्री से। रहन्छ । हिउँदको औसत तापक्रम १० डि।से।देखि १५ डि।से।सम्म रहन्छ । कहिलेकाहीँ शून्य डिग्रीको नजिक पनि पुग्दछ । यहाँ गर्मीमा उपोष्ण र जाडोमा शीतोष्ण अवस्था रहन्छ ।

मध्यपहाडी क्षेत्रमा काउली, मूला, गाजर, बन्दा गोलभेडा, भेडेखुसार्नी, स्क्वास, काँक्रो अदुवा, लसुन आदि धेरै तरकारी र मसला बालीहरु लगाउन सकिन्छ । यस क्षेत्रमा व्यापक मौसमी विविधता रहने भएकोले व्यवसायिक तरकारी खेतीको लागि ज्यादै उपयुक्त स्थान हो । यस क्षेत्रमा समय मिलाएर सबै प्रकारको तरकारी खेती गर्न सकिन्छ । बेमौसमी तरकारी खेतीका लागि पनि यो क्षेत्र सबैभन्दा उपयुक्त छ । 

बेंसी तथा तराई 

समुद्र सतहबाट ५८ मिदेखि ६०० मिसम्म फैलिएको यो क्षेत्रमा गर्मीमा ३० देखि ३५ डिसेसम्म तापक्रम पुग्दछ। यहाँ जाडोको औसत तापक्रम ५ डि।से।देखि १५ डि।से।सम्म हुन्छ । यो क्षेत्रमा जाडोमा न्यानो शितोष्ण, शरद तथा बसन्तमा उपोष्ण र गर्मीमा उष्ण हावापानी पाइन्छ । ताजा तरकारी उत्पादनका दृष्टिले यो क्षेत्र अति महत्वपूर्ण छ।

यो क्षेत्रको हलुका माटो र राम्रो निकास व्यवस्था भएको भूभाग व्यवसायिक तरकारी खेतीका लागि सर्वोत्तम स्थल हो । यहाँ सबै प्रकारका तरकारी बालीहरु लगाउन सकिन्छ। प्लाष्टिक टनेल बनाएर बाह्रै महिना सबै प्रकारका तरकारीहरु उत्पादन गर्न सकिन्छ। बजार संभाव्यता पनि यसै क्षेत्रमा सबभन्दा बढी छ।


Share:

0 comments:

Post a Comment

Copyright © हाम्राे प्याराे गाँउ सुक्लैया - Our lovely village Suklaiya | Powered by Blogger Design by BN Dhungel | Blogger Theme by Bhola Paudel