मधेश प्रदेश , बारा , जिल्ला , जितपुरसिमरा उ.म.न.१५

Saturday, September 12, 2020

गन्तव्य बिहिन यात्रा

 गन्तव्य बिहिन यात्रा


दिउसाे करिब २ बज्न खोजेको हुँदो हो, अफिसकाे मिटिगं सकेर अनायासै बिनाकुनै योजना घुम्न जाने सल्लाह भयो । जाने त जाने तर जाने कहाँ ? यो शहरको कथा छाडेर भाग्ने उपयुक्त ठाउँ कता भन्ने प्रश्न उठ्यो । 

“हाम्रो अफिसका साथीहरू नगएको ठाउँ जाऊँ न त,” उही उदासले प्रस्ताव गर्‍यो ।

हामिलाई जता गए पनि के फरक पर्छ र ! बाइकमा २ जना बत्तियौं—  यहाँसम्म त ठीकै थियो, कथाले भनौं या यात्राले नयाँ मोड तब माग्यो, जब गतब्य नै तय भएन। त्यसपछि मुड चेन्ज, प्लान पनि चेन्ज । जहाँ पुगिन्छ त्याहाँ जाने, केही समय बिताउने, सके केही समय बिताउने, नसके त्यत्तिकै फर्किने । आफ्नो स्रोत र साधनले नभ्याएपछि उद्देश्य र गन्तव्यहरू परिवर्तन हुन क्षण पनि नलाग्दो रहेछ ।

हामी स साना पोखरी, खेत, गाँउ छिचोल्दै, लडिएला कि भन्दै डराउँदै केही अगाडि पुग्यौं । आफू आएको बाटो सही छ÷छैन, जाँच्न मन लाग्यो । बाटो त सही रहेछ तर भर्खरै पिच  हुँदै गरेकोले जान मिल्ने रहेछ । फर्किनुपर्ने भयो । गन्तव्य त उही थियो तर बाटो फेरियो । फर्किन लागेको, कसो–कसो हामी नयाँ ठाँउमा आइपुगिएछ । विगतमा यो ठाउँसँग राम्रै परिचय बनेकोले ठम्याउन गाह्रो परेन । मान्छेलाई एकपटक देखेको ठाउँ र हिँडेको बाटो कतिबेला काम लाग्दो रहेछ, अनुमान गर्न नसकिने । विगतको मेरो हिँडाइ प्रवृत्तिले हामीलाई हराउनबाट जोगायो ।

हामी तेस ठाँउबाट सोझिँदै गर्दा गाँउ चिनेकै भए पनि बाटो त अञ्जान नै थियो । सीधा हिँड्नुपर्ने ठाउँमा अञ्जानमै भए पनि अनावश्यक मोड लिएपछि पूर्वावस्थामा फर्किनु नियति बन्यो । खेत चिरेर सानो आन्द्राजस्ता बनाइएका बाटामा डम्फरजस्ता सवारी आउँदा त ज्यान जोगाउनै हम्मेहम्मे पर्दो रहेछ । हामी त जसोतसो जोगियौं । पछिपछि आइरहेका अर्का यात्री बाइकसहित नालातिर सोझिए । उनी आफू त जोगिए तर बाइकको आधा चक्का बाटो र आधा नालामा उत्तानो टाङ लाएर बस्यो । मान्छेलाई बिनागल्ती सजायचाहिँ कसले भाग लगायो होला ? या तिनले पनि कुनै साइकल या पैदलयात्रीलाई नालातर्फ सोझिन प्रेरित गरेका थिए र आफ्नो कर्मको फल भोगे ? खैर, हामीले उनलाई अगाडिको बाटोबारे पनि सोध्यौं । उनी एक गाई किसान रहेछन् । उनकै घरमाथिबाट मुन्टो बटारेर साथ छोडिएका साथीलाई हेरें । घुम्ती र मोडको कारण साथी त देखिएनन् तर देखियो भर्खरै छुटेको बिराटनगर शहर । काठका जंगलछेउ पुगेर सिमेन्टका जंगल हेर्दा पनि रमाइलै लाग्दो रहेछ । मन्त्रमुग्ध भएर केही दृश्य क्यामेरामा कैद गरें । आफूसँग नभएको वस्तु प्रिय लाग्नु मानवीय स्वभाव भएर होला— छाडेको शहर देख्दा पनि मन रमाएको ।

अञ्जान गन्तव्य जाने अञ्जान बाटा र उकाली–ओरालीहरू पछ्याउँदा पछ्याउँदै तेतरीया भन्ने ठाउँमा पुगिएछ । धन्न नेपालका मान्छे बाटो सोध्दा बताउने मानवीयता राख्छन् नत्र हाम्रो हाल शहर पसेको स्यालकै हुन्थ्यो । भर्खरै रोपाइँ गरिएका धान खेत र बर्सिन ठिक्क परेको बादललाई एउटै प्रतिछायामा अटाउन भ्याएछु । आफैंले खिचेको तस्बिरमा अघिभन्दा केही नयाँपन भेटें । मज्जा लाग्यो । जीवनमा उत्साहित हुन नयाँपन जीवित हुनु आवश्यक रहेछ ।

गफगाफमै केन्द्रित भइरहेको मेरो ध्यान अलिक अगाडि पुगेर त्यहाँ के छ भन्ने कुतूहलताले भंग भयो । नगई चित्त धरिएन । बाइक स्टार्ट गरें । एक किलोमिटर जत्ति अगाडि ग्रामथान गाँउपािलका  थियो । छेउमा एक खाली जग्गामा केही किसानहरूले जुट पाटा बनाउदै थिएन् । त्यहीँ पुगेर रोकियौं र उहाकाे केही तस्बीर क्यामेरामा कैद गर्न सफल  भयाै । पहिले  सुन्दा खिन्न लागे पनि उनको रोजीरोटीको लागि काम गरेका रहेछन भनेर खुशि लाग्याे । 

 

हामी केहि पर पुगेर फेरि साेहीबाटाे फर्कीदा  एउटा खाेलामा केही समय बिताइ जिन्दगीलाइ कसरी अगाडी र कस्ताे माेडमा लैजाने भनी कुरा कानी भयाे र हामीले तेसै स्थानमा बन्दै गरेकाे पुलमा बसी केही तस्बीर पनि क्यामेरामा कैद गरायाै ।

शनिबारको एकदिने यात्राले सिंगो जीवनकै पाठ सिकाएर गयो । हामी जान चाहेका कहाँ थियौं, पुग्यौं कहाँ ! खोजेको गन्तव्य नभेटिएपछि गन्तव्य पनि परिवर्तन भए । यात्रा होस् या जीवन— दुवै सयौं घुम्ती र उकाली–ओराली छिचोल्दै अघि बढिने रहेछ । बाटो बन्द भए कहिलेकाहीँ पछाडि पनि फर्किनुपर्ने रहेछ । तर, गन्तव्यको खोजीमा निस्केका हाम्रा पाइला बिनागन्तव्य घर फर्किनुपर्दा पनि दुःखी भएनन् । जुन उमंग कोठा छाड्दा थियो, फर्किंदा पनि उही उमंग र हाँसो थियो । मान्छे जीवनमा सन्तुष्ट हुनकै लागि यति धेरै यत्न–प्रयत्न गर्छ कि उसले जीवनयात्रामा रमाउन नै बिर्सिन्छ । यात्राको आनन्द छोडेर गन्तव्य नभेटिएकोमा दुःखी रहनेहरू धेरै छन् । फरक–फरक यात्राका फरक–फरक गन्तव्य तोकिएका हुन्छन् । मानिसलाई खुशी त गन्तव्यले होइन, यात्राले दिँदो रहेछ । बस्— हरेक हिँडाइमा आफ्नाहरूको साथ आवश्यक हुँदो रहेछ । के थाहा— हामीले तय गरेको यात्राबिन्दु पनि अरू कसैका लागि पुग्न नसकेको गन्तव्य पो थियो कि ?

                                                                                     

  
                                                       बि.एन.ढुंगेल , बिराटनगर



Share:

Friday, September 11, 2020

याे माया के होला ?

                  💖💖 माया 💖💖


माया दुई अक्षरले वनेको शव्द हो । जहाँ संसार अटेको हुन्छ । नत यसलाई हेर्न सकिन्छ, न देख्न सकिन्छ, नत समात्नानै, मात्र महसुस् गर्न सकिन्छ ।

 माया देखिने कुरा होइन । यो त मनले महसुस गर्ने कुरा हो । आखिर माया सबैमा हुन्छ तर दर्साउने शैली फरक–फरक हुन्छ । मायालाई हेर्न सकिँदैन, रोक्न सकिँदैन, छेक्न सकिँदैन । हृदयमा आफै उत्पन्न हुने चिज हो यो, जसलाई खोजेर भेटिँदैन । राम्रो लाग्यो भन्दैमा समात्न पनि मिल्दैन ।

माया छातीमा कुँदिएको हुन्छ । शरीरको एक–एक धमनीमा रगतसरि बगिरहन्छ । पूरै मन मस्तिष्कमा, हातखुट्टा, टाउको अनि रसिला ती आँखामा सबैतिर मायाले ठाउँ ओगटेको हुन्छ । माया अपवाद हो । माया बिल्कुल फरक केहीसँग नमिल्ने पूर्णविराम हो । प्रश्न चिन्ह हो, माया । अल्पविराम बनी वाक्यलाई निरन्तरता दिने अर्थहीन शब्द पनि हो, माया । 

माया आगो हो, माया स्वार्थ हो, माया जलन हो । माया जबरजस्ती भोगाइ, सम्झाइ, बुझाइ पनि हो । अरूलाई हँसाउनु र रुवाउनु पनि माया नै हो । कसैलाई दु:खी नबनाई खुसी बटुल्नु मायाको उपलब्धि हो । माया सबैमा हुन्छ, तर पाउन मुस्किल पर्छ । बाटोमा हिंड्दैमा र बोल्दैमा माया बस्ने भए, हामी अहिलेसम्म अनगिन्तीसँग बोल्यौं होला, अनगिन्तीसँग साथ–साथै हिंड्यौं होला, तर किन जोसुकै सँग हिंड्दा पनि उसको यादले मात्र सताउँछ ? यद्यपि माया भनेको मनसँग मन मिल्ने अदृश्य स्वरूप रहेछ । यदि कसैले आफूलाई बारम्बार पीडा दिँदा पनि आफूले भने बारम्बार माया दिइरहन सकिन्छ भने त्यो नै साँचो माया हो ।

भनिन्छ, मानिसको शरीर ठूलो छ । त्योभन्दा नि ठूलो मानिसको मन र अझ ठूलो मानिसको माया हुन्छ रे । सबसे ठूलो त प्रेमी–प्रेमिकाको प्रेम हो रे वा भनौं मनले मन खोज्ने माया रे । मानिसको माया र मानिसभित्रको मनको मायामा कति फरक हुन्छ ? मानिसले गर्ने माया मानिससँग हो जुन स्वार्थी हुन्छ । रूप, धन र योग्यता यी सबलाई समावेश गरेर माया गर्न थाल्छ मानिसले । मनले गर्ने माया बिल्कुल फरक हुन्छ । जुन भावुक र प्रेमिल हुन्छ । मनले मनलाई नियाल्छ । मनले आफूजस्तो मन खोजेर मात्र माया गर्न थाल्छ, जसमा केही कुरा समावेश हुँदैन, न त उसको साथीभाइ, न उसको बुवाआमा, न त आफन्त । मात्र एक–अर्कामा जोडिएको मनलाई खोजिरहन्छ मनले ।

मनको माया अटल हुन्छ, शिथिल हुन्छ । मनसँग मन मिल्नासाथ एक ठाउँमा अडिएर बस्न सक्दैन । एक–अर्काको परेलीमा, घरिघरि आँखाको नानीमा, आँखाको नजरमा, कसैले नदेख्ने त्यो सुनसान मध्यरातमा छताछुल्ल हुन्छ ।

मानिस रुँदा मानिससँगै बसेर रुन्छ । खुसी हुँदा मानिससँगै बसेर भलाकुसारी गरेर खुसी व्यक्त गर्छ, तर मन रुँदा एकान्त खोज्छ, एकान्तमा बसेर उही दुखाएको मनलाई नै सम्झेर रुन्छ । हाँस्दा पनि उसैसँग हाँसिरहेको हुन्छ । मानिसको खुसी सबैसँग बाँडिन पुग्छ । त्यो खुसि बाँडिँदा एक ठाउँदेखि अर्को ठाउँ र एउटा मानिसदेखि अर्को मानिससम्म पुग्छ । मन खुसी र दु:खी जे हुँदा पनि उही खोजिरहेको मनमै ठोक्किन पुग्छ । मनको मायामा यथार्थता हुन्छ । स्वच्छ गङ्गाजस्तै निश्चल । मानिसले गर्ने मायामा स्वार्थ नै स्वार्थले भरिएको हुन्छ । न त उसले आमा–बाबु भन्छ न त दिदीबहिनी न त भाउजू–बुहारी तर मनले जसलाई माया गर्छ उसले मन मिल्ने मानिसबाहेक अरू लाई हेर्नु र भेट्नुको कुरा पनि टाढै जाओस् सोच्न पनि सक्दैन । याे मायाकाे संसार यस्तै रहेछ जति बर्णन गरे पनि कहिल्यै सकिन्न् । 

                            माया गंगा जस्तै पबित्र र कन्चन हुन्छ । 


                                     



                                              💖💖💖💖💖 बि.एन. ढुंगेल , बिराटनगर, माेरंग



Share:
Copyright © हाम्राे प्याराे गाँउ सुक्लैया - Our lovely village Suklaiya | Powered by Blogger Design by BN Dhungel | Blogger Theme by Bhola Paudel