मधेश प्रदेश , बारा , जिल्ला , जितपुरसिमरा उ.म.न.१५

Sunday, August 30, 2020

व्यावसायीक मेवा खेती

 

व्यावसायीक मेवा खेती



माटो

व्यवसायीक मेवा खेतीको लागि पानी नजम्ने, प्रशस्त प्रांगारिक पदार्थ भएको, बलौटे दोमट माटो उपयुक्त मानिन्छ । मेवाका जराहरु जमिनबाट धेरै गहिराईमा जान नसक्ने हुँदा माटो मलिलो हुनु आवश्यक छ । उचित पानीको निकास भएको तथा हावा खेल्ने माटो यसको खेतीको लागि राम्रो मानिन्छ । पि.एच ६ – ६.५ मेवा खेतीको लागि सुहाउँदो हुन्छ

हावापानी

मेवा उष्ण तथा उपोष्ण प्रदेशीय फल भएको हुँदा यसलाई तराई तथा मध्य पहाडमा सजिलै उत्पादन गर्न सकिन्छ । तातो तथा ओषिलो हावापानी मेवा खेतीका लागि उपयुक्त मानिने हुँदा समुद्री सतह देखि करिब १००० मि. उचाई सम्म यसको सफल व्यवसायीक खेती गर्न सकिन्छ । मेवाको राम्रो वृद्धि विकासका लागि करिब २१ डी सेल्सियस देखि ३३ डी. सेल्सियस सम्मको तापक्रम उपयुुक्त मानिन्छ । १० डी. सेस्ल्सियास वा सो भन्दा कम तापक्रम मेवा खेतीको लागि हानिकारक हुन्छ । मेवाखेतीका लागि करिब ३५ से.मी देखि २०० मि. सम्म औषत बार्षिक वर्षा उपयुक्त हुन्छ । मेवाको लागि पानी आवश्यक छ तर पानी जमेको भने पटक्कै हुनुहुदैँन । थोपा सिंचाई मेवाका लागि निकै राम्रो मानिन्छ ।

मेवाका जातहरु: कोयटुम्बर – १, कोयटुम्बर – २, रेड लेडी, वासिंगटन, पुसा म्याजेस्टि

लिङ्गको छनोट

लिङ्गको छनोट मेवा खेतीको लागि सबैभन्दा महत्वपूर्ण हुन्छ । सफल व्यावसायिक खेतीको लागि भाले, पोथी तथा उभयलिङ्गी मेवाको छनोट हुनु अत्यावश्यक छ । सामन्यतया भाले मेवाको फल लाग्दैन फुल्ने मात्र गर्दछ । यसकारण व्यवसायीक मेवा खेती गर्दा धेरै भाले मेवा राख्नु उपयुक्त मानिदैन । जब मेवा फुल्न थाल्छ तब मात्र भाले, पोथी तथा उभयलिङ्गी मेवा चिन्न सकिन्छ । भाले मेवाका फूलहरु झुन्डिएका तथा समूहमा आउने गर्दछन भने पोथी मेवाका फूलहरु छुट्टाछुट्टै आउदछन । भाले तथा उभयलिङ्गी मेवामा पुष्पदलहरु तल तिर जोडिएका हुन्छन् भने पोथी मेवामा स्वतन्त्र हुन्छन् । भाले मेवाका कोपिलाहरु निकै साघुरा तथा चम्चा आकारका हुन्छन् । यस्तै पोथी मेवाका कोपिला केही ठूला र सोलि आकारका हुन्छन् भने उभयलिङ्गी मेवामा बेलनाकार हुन्छन् ।

प्रसारण

मेवाको प्रसारण बीउ बाट हुन्छ । यसको बिरुवालाई नर्सरी बेडमा उत्पादन गर्न सकिन्छ । सामान्यतया एक हेक्टरमा बिरुवा लगाउन करिब ४५० देखि ५५० ग्राम बीउ चाहिन्छ ।

बेर्नाको तयारी

व्यावसायीक मेवा खेतीका लागि बेर्नाको तयारी अनिवार्य हुन्छ । बेर्ना तयार गर्न बेड बनाउदा चौडाई एक मि. , उचाई १५ से.मि. तथा लम्बाई आवश्यकता अनुसार तयार गरेर पाकेको गोबरमल माटोमा मिलाई सम्म बनाई १० से.मि.को फरक पारेर करिब एक से.मि. को गहिराईमा बिउ रोप्नु पर्दछ । बीउ रोपीसके पछि माथीबाट हल्का माटोले पुरी परालले छोपेर हजारीबाट हल्का पानी दिनुपर्दछ । बीउ रोपेको करिब १५-२० दिनभित्र बेर्ना उम्रन थालेपछि पराल हटाई दैनिक सिंचाई दिनुपर्दछ ।

बेर्ना रोपण

यसरी तयार भएको बेर्ना एक महिना पछि बल्ल रोप्न लायक हुन्छ । बेर्ना रोप्दा १५ से.मि. लम्बाई, १५ से.मि. चौडाई र २० से.मि.को खाडल बनाई, पाकेको गोबरमल राखी एक बोट देखि अर्को बोटको दुरि डेढ देखि दुई मिटरको फरकमा रोप्नु पर्दछ । बेर्ना रोपिसके पछि हल्का सिचाई दिनु पर्दछ । जब मेवा फुल्न थाल्छ उक्त समयमा भाले तथा पोथी मेवा पहिचान गरि १० बोट पोथी मेवामा एक बोट भाले मेवा राखी अरु भाले मेवा फालिदिनुपर्दछ ।

रोग तथा व्यवस्थापन

कोत्रे रोग, पात बटारिने रोग, पात डढुवा रोग तथा अन्य विभिन्न भाईरल तथा ढुसिजन्य रोगहरु मेवामा अत्याधिक लाग्ने केही रोगहरु हुन् ।कोत्रे रोगको ब्यवस्थापन तातो पानीबाट तथा ढुसीनासक बिषादिको प्रयोगबाट गर्न सकिन्छ । पात बटारिने रोगको ब्यवस्थापनका लागि मोनोक्टोफर्स (०.०५%) बिषादिको प्रयोग उपयुक्त हुन्छ भने पात डढुवा रोगको ब्यवस्थापन वेभिष्टिन बिषादिको प्रयोग द्वारा गर्न सकिन्छ ।

निकै गुणकारी फल मेवाको नेपाली बजारमा दिन प्रती दिन बढ्दो माग छ तर माग अनुसार व्यवसायिक खेती हुन नसक्दा बढ्दो बजारमागलाई अहिलेको उत्पादनले धान्न सक्ने अवस्था छैन । नेपालमा व्यवसायीक मेवा खेतीको प्रचुर सम्भावना छ तर लगानी निकै कम छ फलतः मेवा खेती फस्टाउन सकेको छैन । यसकारण मेवामा लगानी बढाई आत्मनिर्भर हुनु आजको आवश्यकता हो ।

Share:

0 comments:

Post a Comment

Copyright © हाम्राे प्याराे गाँउ सुक्लैया - Our lovely village Suklaiya | Powered by Blogger Design by BN Dhungel | Blogger Theme by Bhola Paudel