मधेश प्रदेश , बारा , जिल्ला , जितपुरसिमरा उ.म.न.१५

Sunday, August 16, 2020

तुलसी खेती

 

तुलसी हाम्रो घरआँगनमा लगाइने अत्यन्तै गुणी बिरुवा हो। धार्मिक रूपमा पनि यसको निकै मान्यता रहेको पाइन्छ। सँगै यसको व्यवसायिक हिसाबमा पनि धेरै संभाबना छ।  जमिन हुनेहरूका लागि निकै सहज हुने र जमिन नहुनेहरूले पनि थोरै जमिन भाडामालिएर खेती गर्न सकिने भएकाले यो खेतीमा लगानी गर्नु सुरक्षित हुन्छ।

तुलसीका के कस्ता फाइदाहरू छन् ?

  • यसलाई ‍ रोगसँग लड्ने शक्ति बढाउँछ
  • महसँग खाने हो भने किड्नीमा हुने पत्थरीको पनि उपचार हुन्छ
  • कोलेस्ट्रोललाई सन्तुलित राख्छ
  • यसको पातको रस पिउने हो भने मुटुको लगभग धेरै रोगहरूको उपचार हुन्छ
  • स्वाइन फ्लु जस्तो रोगको उपचार पनि तुलसीबाट हुन्छ
  • तुलसीबाट धेरै मात्रामा अक्सिजन पाइन्छ

कसरी खेती गर्ने ?

यसको खेती चैत्र वा वैशाखबाट सुरु गर्न सकिन्छ। सबै मौसममा राम्रो हुने यसको खेती अझ बढी गर्मीमा फस्टाउँछ।तुलसीको खेती दुई प्रकारबाट गर्न सकिन्छ; बीउबाट र हाँगाबाट।

बीउबाट: 

बीउबाट खेती गर्दा तुलसीमा पहिला फूल लाग्न थाल्छन्। त्यसको एक महिना पछि  पाक्न सुरु हुन्छ। एउटा फूलमा लगभग १८ बीउ हुन्छ। ती बीउलाई निकालेर सुकाउनुपर्छ। त्यसपछि बिउलाई  रङ्गीन बोतलहरुमा भरेर ८-१२ हप्ता सम्म ओस नभएको स्थानमा राख्नुपर्छ।

रोप्दाखेरी १५ से.मि को दुरीमा ड्याङहरु बनाउनुपर्छ। हरेक ड्याङमा लगभग १०० वटा बीउ रोप्नुपर्छ। रोपेको ८ देखि १० दिन पछि टुसा पलाउन सुरु हुन्छ। आवश्यकता अनुसार सिँचाइ, गोडाइ गरिराख्नुपर्छ। बिरुवाको लम्बाई १० देखि १५ से. मि भएपछि रोपाइको लागि प्रयोग गर्न सकिन्छ।

हाँगाबाट:

 १० देखि १५ वटा हाँगा काटेर छाया पर्ने ठाउँमा राखी बिहान बेलुकी पानी दिनुपर्छ। एक महिनापछि हाँगाबाट जराको विकास हुन थाल्छ। त्यसपछि पातहरु विकास हुन्छन्। हाँगाहरु ५ देखि १० से.मि लामो भएपछि रोपाइ गर्न सकिन्छ।  

बिरुवा रोप्नका लागि सबैभन्दा पहिला जमिन राम्ररी खन्नुपर्छ र माटो बराबर बनाउनुपर्छ। त्यसपछि माटोमा गोबर मिसाउनुपर्छ। मलका लागि फोस्फोरस र पोटास पनि लगाइन्छ।  एउटा बिरुवा अर्को देखि करिब १.५ फिटको दुरीमा लगाउनुपर्छ। कहिले कहिले यसको जराको वरिपरि सफाइ गर्नुपर्छ र अलिकति खन्नु पनि पर्छ। यसो गर्नाले बिरुवा छिटो बढ्छ।

रोपेको ८० देखि ९० दिनसम्ममा तुलसी टिपेर बिक्रीका लागि तयार हुन्छ।

कस्तो छ यसको व्यापार तथा व्यवसाय ?

तुलसीको खेतीबाट दुई प्रकारका उत्पादन गर्न सकिन्छ : पहिलो बिउ र दोस्रो पात। यसको बीज उत्पादन गरेर बिक्री गर्न सकिन्छ साथै यसको पातबाट तेल निकालेर राम्रो कमाइ गर्न सकिन्छ।

एक हेक्टरमा यसको खेतीका लागि लगभग १० किलोग्राम जति बिउको आवश्यकता पर्छ भने एक हेक्टर क्षत्रफलबाट लगभग १२० देखि १५० किलोग्रामसम्म तुलसीको बिउ उत्पादन गर्न सकिन्छ।

तुलसीको बिउ प्रतिकिलो ४०० रुपैयाँसम्म बिक्री हुन्छ। यस्तै तेलको मूल्य प्रतिकिलोग्राम १३०० रुपैयाँसम्म रहेको छ।

कहाँ बेच्ने?

तुलसीको माग बजारमा निकै रहेको पाइन्छ। यसको व्यापार भारत तथा चीनमा निर्यात गरि गर्न सकिन्छ। तुलसीलाई औषधी बनाउनका लागि कच्चा पदार्थको रुपमा प्रयोग गरिन्छ। तुलसीबाट बनिएको तुलसी चिया पनि नेपाली बजारमा राम्रो बिक्री हुने गरेको पाइन्छ र विदेशीहरुले पनि यसलाई खुब मनपराउछन्। यसलाई राम्रोसँग प्याकेजिङ गरेर बजारमा लागि बेच्न सकिन्छ। धार्मिक कार्यमा पनि यसको धेरै महत्व छ। त्यसकारण यसलाई पूजा सामाग्रीको रुपमा बेच्न सकिन्छ। सामाजिक सञ्जालको माध्यमबाट पनि यसको बिक्री वितरण गर्न सकिन्छ।

स्रोत: यो लेख तुलसी खेती सम्बन्धी इन्टरनेटमा पाइएका विभिन्न सामाग्रीहरू अध्ययन गरी तयार पारिएको हो। थप जानकारीको लागि यो लिंक खोल्नुहोस्।

Share:

0 comments:

Post a Comment

Copyright © हाम्राे प्याराे गाँउ सुक्लैया - Our lovely village Suklaiya | Powered by Blogger Design by BN Dhungel | Blogger Theme by Bhola Paudel