मधेश प्रदेश , बारा , जिल्ला , जितपुरसिमरा उ.म.न.१५

Saturday, September 12, 2020

गन्तव्य बिहिन यात्रा

 गन्तव्य बिहिन यात्रा


दिउसाे करिब २ बज्न खोजेको हुँदो हो, अफिसकाे मिटिगं सकेर अनायासै बिनाकुनै योजना घुम्न जाने सल्लाह भयो । जाने त जाने तर जाने कहाँ ? यो शहरको कथा छाडेर भाग्ने उपयुक्त ठाउँ कता भन्ने प्रश्न उठ्यो । 

“हाम्रो अफिसका साथीहरू नगएको ठाउँ जाऊँ न त,” उही उदासले प्रस्ताव गर्‍यो ।

हामिलाई जता गए पनि के फरक पर्छ र ! बाइकमा २ जना बत्तियौं—  यहाँसम्म त ठीकै थियो, कथाले भनौं या यात्राले नयाँ मोड तब माग्यो, जब गतब्य नै तय भएन। त्यसपछि मुड चेन्ज, प्लान पनि चेन्ज । जहाँ पुगिन्छ त्याहाँ जाने, केही समय बिताउने, सके केही समय बिताउने, नसके त्यत्तिकै फर्किने । आफ्नो स्रोत र साधनले नभ्याएपछि उद्देश्य र गन्तव्यहरू परिवर्तन हुन क्षण पनि नलाग्दो रहेछ ।

हामी स साना पोखरी, खेत, गाँउ छिचोल्दै, लडिएला कि भन्दै डराउँदै केही अगाडि पुग्यौं । आफू आएको बाटो सही छ÷छैन, जाँच्न मन लाग्यो । बाटो त सही रहेछ तर भर्खरै पिच  हुँदै गरेकोले जान मिल्ने रहेछ । फर्किनुपर्ने भयो । गन्तव्य त उही थियो तर बाटो फेरियो । फर्किन लागेको, कसो–कसो हामी नयाँ ठाँउमा आइपुगिएछ । विगतमा यो ठाउँसँग राम्रै परिचय बनेकोले ठम्याउन गाह्रो परेन । मान्छेलाई एकपटक देखेको ठाउँ र हिँडेको बाटो कतिबेला काम लाग्दो रहेछ, अनुमान गर्न नसकिने । विगतको मेरो हिँडाइ प्रवृत्तिले हामीलाई हराउनबाट जोगायो ।

हामी तेस ठाँउबाट सोझिँदै गर्दा गाँउ चिनेकै भए पनि बाटो त अञ्जान नै थियो । सीधा हिँड्नुपर्ने ठाउँमा अञ्जानमै भए पनि अनावश्यक मोड लिएपछि पूर्वावस्थामा फर्किनु नियति बन्यो । खेत चिरेर सानो आन्द्राजस्ता बनाइएका बाटामा डम्फरजस्ता सवारी आउँदा त ज्यान जोगाउनै हम्मेहम्मे पर्दो रहेछ । हामी त जसोतसो जोगियौं । पछिपछि आइरहेका अर्का यात्री बाइकसहित नालातिर सोझिए । उनी आफू त जोगिए तर बाइकको आधा चक्का बाटो र आधा नालामा उत्तानो टाङ लाएर बस्यो । मान्छेलाई बिनागल्ती सजायचाहिँ कसले भाग लगायो होला ? या तिनले पनि कुनै साइकल या पैदलयात्रीलाई नालातर्फ सोझिन प्रेरित गरेका थिए र आफ्नो कर्मको फल भोगे ? खैर, हामीले उनलाई अगाडिको बाटोबारे पनि सोध्यौं । उनी एक गाई किसान रहेछन् । उनकै घरमाथिबाट मुन्टो बटारेर साथ छोडिएका साथीलाई हेरें । घुम्ती र मोडको कारण साथी त देखिएनन् तर देखियो भर्खरै छुटेको बिराटनगर शहर । काठका जंगलछेउ पुगेर सिमेन्टका जंगल हेर्दा पनि रमाइलै लाग्दो रहेछ । मन्त्रमुग्ध भएर केही दृश्य क्यामेरामा कैद गरें । आफूसँग नभएको वस्तु प्रिय लाग्नु मानवीय स्वभाव भएर होला— छाडेको शहर देख्दा पनि मन रमाएको ।

अञ्जान गन्तव्य जाने अञ्जान बाटा र उकाली–ओरालीहरू पछ्याउँदा पछ्याउँदै तेतरीया भन्ने ठाउँमा पुगिएछ । धन्न नेपालका मान्छे बाटो सोध्दा बताउने मानवीयता राख्छन् नत्र हाम्रो हाल शहर पसेको स्यालकै हुन्थ्यो । भर्खरै रोपाइँ गरिएका धान खेत र बर्सिन ठिक्क परेको बादललाई एउटै प्रतिछायामा अटाउन भ्याएछु । आफैंले खिचेको तस्बिरमा अघिभन्दा केही नयाँपन भेटें । मज्जा लाग्यो । जीवनमा उत्साहित हुन नयाँपन जीवित हुनु आवश्यक रहेछ ।

गफगाफमै केन्द्रित भइरहेको मेरो ध्यान अलिक अगाडि पुगेर त्यहाँ के छ भन्ने कुतूहलताले भंग भयो । नगई चित्त धरिएन । बाइक स्टार्ट गरें । एक किलोमिटर जत्ति अगाडि ग्रामथान गाँउपािलका  थियो । छेउमा एक खाली जग्गामा केही किसानहरूले जुट पाटा बनाउदै थिएन् । त्यहीँ पुगेर रोकियौं र उहाकाे केही तस्बीर क्यामेरामा कैद गर्न सफल  भयाै । पहिले  सुन्दा खिन्न लागे पनि उनको रोजीरोटीको लागि काम गरेका रहेछन भनेर खुशि लाग्याे । 

 

हामी केहि पर पुगेर फेरि साेहीबाटाे फर्कीदा  एउटा खाेलामा केही समय बिताइ जिन्दगीलाइ कसरी अगाडी र कस्ताे माेडमा लैजाने भनी कुरा कानी भयाे र हामीले तेसै स्थानमा बन्दै गरेकाे पुलमा बसी केही तस्बीर पनि क्यामेरामा कैद गरायाै ।

शनिबारको एकदिने यात्राले सिंगो जीवनकै पाठ सिकाएर गयो । हामी जान चाहेका कहाँ थियौं, पुग्यौं कहाँ ! खोजेको गन्तव्य नभेटिएपछि गन्तव्य पनि परिवर्तन भए । यात्रा होस् या जीवन— दुवै सयौं घुम्ती र उकाली–ओराली छिचोल्दै अघि बढिने रहेछ । बाटो बन्द भए कहिलेकाहीँ पछाडि पनि फर्किनुपर्ने रहेछ । तर, गन्तव्यको खोजीमा निस्केका हाम्रा पाइला बिनागन्तव्य घर फर्किनुपर्दा पनि दुःखी भएनन् । जुन उमंग कोठा छाड्दा थियो, फर्किंदा पनि उही उमंग र हाँसो थियो । मान्छे जीवनमा सन्तुष्ट हुनकै लागि यति धेरै यत्न–प्रयत्न गर्छ कि उसले जीवनयात्रामा रमाउन नै बिर्सिन्छ । यात्राको आनन्द छोडेर गन्तव्य नभेटिएकोमा दुःखी रहनेहरू धेरै छन् । फरक–फरक यात्राका फरक–फरक गन्तव्य तोकिएका हुन्छन् । मानिसलाई खुशी त गन्तव्यले होइन, यात्राले दिँदो रहेछ । बस्— हरेक हिँडाइमा आफ्नाहरूको साथ आवश्यक हुँदो रहेछ । के थाहा— हामीले तय गरेको यात्राबिन्दु पनि अरू कसैका लागि पुग्न नसकेको गन्तव्य पो थियो कि ?

                                                                                     

  
                                                       बि.एन.ढुंगेल , बिराटनगर



Share:

0 comments:

Post a Comment

Copyright © हाम्राे प्याराे गाँउ सुक्लैया - Our lovely village Suklaiya | Powered by Blogger Design by BN Dhungel | Blogger Theme by Bhola Paudel