मधेश प्रदेश , बारा , जिल्ला , जितपुरसिमरा उ.म.न.१५

Sunday, August 16, 2020

मरीच- खेती

 

के हो मरीच ?

मरीच एक खाद्य पदार्थ हो। यो कालो रङ्गको हुन्छ। यसलाई दूध, चिया, रोटी, तरकारी आदिमा प्रयोग गरिन्छ। बानस्पतिक हिसाबले मरीच झाँग जस्तो बोट हो। यसमा फल्ने फलमा सिङ्गो बियाँ हुन्छ। पकाएर सुकाएको फललाई कालो मरीचको रूपमा प्रयोग गरिन्छ। सुकाएको काँचो फललाई हरियो मरीच तथा पाकेको फलको बियाँलाई सेतो मरीचको रूपमा प्रयोग गरिन्छ।

यसको खेती कहाँ हुन्छ ?

नेपालमा यसको खेती मोरङ, सुनसरी, झापा, रामेछाप र लम्जुंगमा गरिएको पाइन्छ।हालको तथ्याङ्क अनुसार भियतनाम विश्वकै सबैभन्दा ठूलो उत्पादक र निर्यात गर्ने देश हो जसले विश्वको ३४ प्रतिशत मरीच उत्पादन गर्छ।

के के छन् यसका फाइदा ?

  • मरीचको सेवनले पेटको दुखाई कम गर्न मद्दत गर्छ । मरीचमा हुने एन्टीब्याक्टेरियल गुणले पेटमा हुने इन्फेक्सनबाट बचाउँछ ।
  • मरीचको नियमित सेवनले शरीरको मोटोपना नियन्त्रण गरी तौल कम गर्न मद्दत गर्छ ।
  • त्यस्तै, कब्जियत तथा ग्यास्ट्रिक सम्बन्धी समस्याबाट छुटकारा पाउन पनि मरीच लाभदायी मानिन्छ ।
  • क्यान्सरका बिरामीले यसको नियमित सेवन गर्नाले फाइदाजनक हुन्छ । मरीचमा क्यान्सरका सेल तथा कोशिका नष्ट गर्ने तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने गुण हुन्छ ।
  • आँखा कमजोर छन् भने मरीच पिसेर धूलो बनाएर घिउसँग यसलाई मिसाएर नियमित सेवन गर्नाले आँखा तेजिलो हुन्छ ।
  • पेटमा किरा परेका छन् भने अलिकति मरीचको धूलो एक गिलास मोहीमा घोलेर पिउँदा राम्रो हुन्छ।
  • पाइल्सको समस्या छ भने मरीच उत्तम औषधी हो।यसका लागि जिरा, चिनी र मरीचका दानाहरूलाई पिँधेर धूलो बनाइ बिहान बेलुका तीन चोटि खानुपर्छ। यो खाँदाखेरी जंक फुड तथा तेल हालेको खानेकुरा खानुहुँदैन ।
  • साससम्बन्धी समस्या छन् भने पुदिनाको चियामा मरीच हालेर पिउँदा फाइदा गर्छ ।
  • मरीच चपाउने गर्दा अनुहारका दाग धब्बा र रोग निको हुन्छन् ।
  • दाँत दुखेको वा बिग्रेको छ भने मरिचले फाइदा गर्छ । पाइरिया भएको छ भने मरीचको धुलोमा नुन हालेर दाँतमा दल्दा, ठीक हुन्छ ।
  • भुल्ने बानी छ भने महमा मरीचको धूलो हालेर दिनमा दुई चोटि खानुपर्छ।

तर मरीचको ज्यादा सेवनले भने हाडजोर्नीमा समस्या निम्त्याउन सक्छ ।

कसरी खेती गर्ने ?

मरीच खेती समुद्री सतहदेखि २००० मिटरसम्म गर्न सकिन्छ। खेती गर्दा बिरुवाहरू बिच २.५ मि. र लाइनहरू बिच पनि २.५ मि. को दुरी कायम गर्नुपर्छ। यसले आड लिनका लागि पर्याप्त ठाउँ पुग्छ। आडको लागि अन्य बिरुवाहरू, सिमेन्टको पिलर, काठको पोल, फलामे तार आदि प्रयोग गर्न सकिन्छ। बिरुवालाई सही आकार दिन र रोग मुक्त राख्नुका साथै उत्पादनमा निरन्तरता कायम गर्न काँटछाँट जरुरी हुन्छ। बिरुवा १ मिटर लामो भएपछि तलको पात हटाइदिनुपर्छ। उपयुक्त छहारी र सहारा दिन तथा रोग र किराहरूबाट जोगाउन घरेलु उपकरणहरूले काँटछाँट गर्न सकिन्छ।

यसले कति समयमा फल दिन्छ ?

साधरणतया तेस्रो वर्षपछि बिरुवाहरू फल्न थाल्छन्। यसको प्रत्येक गुच्छामा ५०-६० दाना हुन्छन्। सात वर्षपछि बिरुवाहरूमा फलहरूको १०० देखि १५० मिलिमिटर लामो गुच्छा अधिकतम मात्रामा लाग्न थाल्छन्। गर्मीमा प्रत्येक बिरुवाबाट साधरणतया ४ देखि ६ किलोग्राम सम्म मरीच प्राप्त हुन्छ।यसको उत्पादन प्रति हेक्टर २७५ के जीसम्म भएको पाइन्छ।

मरीचको गेडा पहेंलिएर एउटा झुप्पामा १ २ वटा गेडा रातो भइसकेपछि टिपेर सुकाउनुपर्छ र त्यसपछि गेडालाई छुट्याउन सकिन्छ। त्यसपछि केही दिन सुख्खा ठाउँमा राखी घाममा सुकाउनुपर्छ। गेडा चाउरिएर कालो भएपछि भण्डारण गर्न सकिन्छ।

यसको व्यवसायिक सम्भावना कस्तो छ ?

नेपालमा मरीचको व्यवसायिक सम्भावना निकै राम्रो भएको पाइन्छ।गत आर्थिक वर्षमा मात्रै १ अर्ब ४९ करोडको मरीच नेपालमा आयात भएको तथ्याङ्क भेटिन्छ |

बजारमा यसको बिक्री १००० भन्दा बढी प्रति के.जी हुने गरेको छ| यी सम्भावना भएता पनि नेपालमा यसलाई व्यवसायिक रूप दिन भने सकिएको छैन| मरीचको राम्रो उत्पादन र व्यवसाय गर्ने हो भने आफ्नो जिवानस्थर चाडै नै उकास्न सकिन्छ र विदेशिने युवाहरूमा पनि धेरै मात्रमा कमी ल्याउन सकिन्छ|

लहरे बाली मरीचका लागि बोक्रा खस्रो हुने आँप, कल्की, कट्टुस्, चिलाउने, फलेदो, साल लगायतका बोटको आवश्यकता पर्छ| फेदमा लगाएको मरिचले फल दिने र रुख हुर्केपछि काठ बिक्री हुने हुँदा दोहोरो फाइदा लिन सकिन्छ|यसले लगातार ३० वर्ष सम्म उत्पादन दिन्छ|

स्रोत: यो लेख मरीच खेती सम्बन्धी इन्टरनेटमा पाइएका विभिन्न लेख तथा सामग्रीहरू अध्ययन गरि तयार पारिएको हो|


Share:

0 comments:

Post a Comment

Copyright © हाम्राे प्याराे गाँउ सुक्लैया - Our lovely village Suklaiya | Powered by Blogger Design by BN Dhungel | Blogger Theme by Bhola Paudel