के हो मोरिङ्गा ( सजिउन ) ?
मोरिङ्गा हिमालयको दक्षिण भेगमा उत्पत्ति भएको तराई तथा मध्य पहाडमा लिची र आँप हुने ठाउँमा सजिलै लगाउन सकिने एक बाली हो। यसलाई विभिन्न क्षेत्रमा विभिन्न नामले चिनिन्छ। तराई तिर यसलाई सोहिजन, सैजन, सजिउन, मुनका आदि नामले चिनिन्छ भने मध्य पहाडी भेगमा सितल चिनीको नामले प्रख्यात छ। यसको अङ्ग्रेजी नाम मोरिङ्गाओलिफेरा हो भने यसको कोसा ड्रम पिट्ने लट्ठी जस्तो भएकाले अङ्ग्रेजीमा ड्रम स्टिक ट्री (Drum Stick Tree) पनि भनिन्छ।
यसका फाइदाहरू के के छन् ?
- यसमा मानव शरीरलाई चाहिने ९० भन्दा बढी किसिमको पोषण तत्त्व र ४३ किसिमका एन्टी अक्सिडेन्ट पाइन्छ,
- यसलाई खाद्य पदार्थ, औषधी, रङ्ग, घाँस तथा पानी शुद्धीकरणमा प्रयोग गर्न सकिन्छ,
- यो मानिस, पशु र बालीका लागि पोषणयुक्त छ,
- खासै रोग र किरा पनि नलाग्ने भएकाले व्यवसयिक रूपमा यसको राम्रो सम्भावना छ,
- रोपेको ६ महिना देखि १ वर्षमा नै उत्पादन लिन सकिन्छ।
कस्तो माटो राम्रो हुन्छ ?
मोरिङ्गा ५-१२ मिटर अग्लो छाताको जस्तो आकार भएको बोट हो। यसको जरालाई कम पानी भए पुग्छ। यसको खेतीका लागि पानीको राम्रो निकास भएको बलौटे दोमट माटो राम्रो हुन्छ।
यो कति उचाईमा हुन्छ र कति तापक्रम चाहिन्छ?
यो बिरुवा समुद्री सतह देखि ६ सय मिटर सम्मको उचाइमा धेरै राम्रो सप्रन्छ। २५-३५ डिग्री से. तापक्रम यसको लागि उपयुक्त हुन्छ। यो तापक्रम भन्दा केही कम वा उच्च तापक्रममा पनि यसको उत्पादन लिन सकिन्छ।
कसरी रोप्न सकिन्छ ?
यसको रोपाईको लागि ५० से.मी लम्बाई, चौडाइ र गहिराई भएको खाडल खन्नुपर्छ। सो खाडलमा १० किलो गोठेमल, १ किलो चुन, २ किलो पिना राखी माटोसँग राम्ररी मिलाएर रोप्नुपर्छ। यसलाई सिधै बीउ रोपेर, बेर्ना सारेर वा कडा डाँठको कलमीबाट रोप्न सकिन्छ। जेठको महिनामा पहिलो पानी परेपछि बेर्ना वा कटिंग गरेको हाँगा सार्नुपर्दछ।
कति समयमा फल्छ ?
स्थानीय जातहरूमा केही वर्षमा एक पटक मात्र फल्ने र कोही वर्षमा २ पटक पनि फल्ने गर्दछन्। व्यवसायिक खेती गर्ने हो भने वर्षमा २ पटक उत्पादन लिन सकिने जातको छनौट गर्नु राम्रो हुन्छ।
कस्तो छ यसको व्यवसाय ?
नेपालको तराई भेगमा सामान्य रूपमा हरेक घरको वरिपरि २-४ वटा मोरिङ्गाका बोटहरू देख्न पाइने भएता पनि यसले अझै पनि हाम्रो देशमा व्यवसायिक महत्त्व पाउन सकेको छैन। केहि वर्ष यता यसको कोसा तरकारीको रूपमा १५० देखि २०० रुपैयाँ प्रति के.जी सम्मका दरले बिक्री हुन थालेको छ। अन्डा, दूध, माछा,तरकारी भन्दा धेरै पोषणयुक्त मानिएको यस बालीको नेपालमा व्यवसायिक उत्पादन गर्न सके खाद्य तथा पोषण सुरक्षाका लागि यसले धेरै ठुलो योगदान दिन सक्छ।
यो लेख मोरिङ्गा खेती सम्बन्धी इन्टरनेटमा पाइएका विभिन्न लेख तथा सामग्रीहरू अध्ययन गरि तयार पारिएको हो|




0 comments:
Post a Comment